महिला पर्यटन ब्यबसायी मञ्च (ओटेफ)को साधारणसभा सम्पन्न

-


     मर्दी न्युज    
     २८ पुस २०७८ मा प्रकाशित


पोखरा । आर्थिक बिकासका लागि पर्यटन ब्यबसायमा महिला सहभागिता भन्ने नाराका साथ २०७४ साल साउन २९ गते स्थापना भएको महिला पर्यटन ब्यबसायी मञ्च (ओटेफ) को चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ।

लेकसाईडस्थित होटल ल्याण्डमार्कको सभाहलमा गरिएको साधारणसभाको उदघाटन सत्रको कार्यक्रममा शुभकामना मन्तव्य दिने बक्ताहरुले पर्यटन क्षेत्रमा महिलाहरुको लगानी, उपस्थिति र अग्रसरताको प्रशंसा गर्दै थप सफलताको कामना गरेका थिए। मन्तव्य राख्ने बक्ताहरुमा संस्थाका सल्लाहकार नर्मला कंडेल, बिशेष अतिथि पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जगतबहादुर पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी , नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना बर्षा शर्मा, वरिष्ठ पर्यटन ब्यबसायी तथा नेपाल पर्यटन बोर्डका पुर्व बोर्ड सदस्य बासुदेव त्रीपाठि लगायत हुनुहुन्थ्यो।

प्रमुख अतिथिको मन्तव्य राख्दै गण्डकी प्रदेश सभाका सदस्य माननीय राजिब पहारिले पर्यटन क्षेत्रमा महिला लगानीकर्ताहरुको योगदानको उचित कदर हुनुपर्ने बताउनुभयो। राज्यको तर्फबाट पनि महिला पर्यटन ब्यबसायिहरु लाई सहुलियत र प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष पार्वती पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन महासचिव ममता न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न प्रतियोगिता (बक्तृत्वकला, तिजको गित, नृत्य आदि) का बिजेताहरुलाई पुरस्कार तथा सम्मान पत्र बितरण गरिएको थियो।