प्रदेशमै सञ्चारमाध्यम दर्ता र नवीकरण

-


     मर्दी न्युज    
     २८ पुस २०७८ मा प्रकाशित


पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशमै आम सञ्चारमाध्यमम दर्ता, नवीकरण र खारेजीको व्यवस्थाका लागि प्रेस रजिस्ट्रारको कार्यालय स्थापना गर्ने भएको छ । सङ्घीयताको मर्म र भावनाअनुसार प्रदेश सरकारले अघि बढाएको आमसञ्चार विधेयक पारितपछि प्रेस रजिस्ट्रारको नियुक्तिलगायतका कार्य अघि बढ्ने र सञ्चारमाध्यमले दर्ता, नवीकरणलगायतमा भोग्नुपरेका समस्या समाधान गरिने कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले बताए ।

नेपाल पत्रकार महासङ्घको आयोजना र महासङ्घ कास्की शाखाको समन्वयमा आजदेखि पोखरामा सुरु भएको एकहप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन कार्यक्रममा मन्त्री थापाले प्रदेशसभामा विचाराधीन रहेको सञ्चार विधेयकलाई परिमार्जन गरी नमूना विधेयकका रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले भने, “आम सञ्चार विधेयक हाल विचाराधीन रहेको छ । पत्रकारिताको सबै क्षेत्रका साथीसँग बसेर छलफलबाट परिमार्जन गरी नमूना विधेयकका रूपमा ल्याउने प्रयास गर्नेछौँ । सञ्चार विधेयक समयानुकूल परिर्वतन गरेर पास गरेपछि प्रेस रजिस्ट्रारको कार्यालय पोखरामा रहने गरी स्थापना गरिने छ ।”

सो अवसरमा मन्त्री थापाले पत्रकार महासङ्घ कास्कीमा पुस्तकालय स्थापनाका लागि रु १५ लाख र महासङ्घ प्रदेशका छ जिल्ला शाखाको भवन निर्माणका लागि रु ६० लाख विनियोजन गरिएको जानकारी दिए । लोककल्याणकारी विज्ञापनलाई समेत प्रभावकारी ढङ्गबाट वितरण गर्ने गरी सञ्चार मन्त्रालय अगाडि बढेको उनले बताए । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने तालिममा छापा तथा विद्युतीय सञ्चारमाध्यमका ४० पत्रकार सहभागी रहेका बताइएको छ ।