
काठमाडौं । निर्वाचन आयोगले माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपर्ने बताएको छ ।
शुक्रबार प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्न माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने बताएका थिए ।
आयुक्त थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन घर्किसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।
संविधानको धारा २२५ मा स्थानीय तहको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्ष हुने र कार्यकाल समाप्त भएको ६ महिनाभित्र गाउँसभा र नगरसभाको निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ । तर ऐनमा पहिलो चरणमा निर्वाचन भएको ७ दिनभित्र कार्यकाल शुरु भएको मानिने उल्लेख छ । त्यसैले स्थानीय जनप्रतिनिधिहरुको कार्याकाल २०७९ जेठ ५ गते सकिने आयोगले बताएको छ ।