
पोखरा । पोखरामा जारी दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगिताअन्तर्गत पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय टोली नेपाल आर्मी फाइनलमा भिड्ने भएका छन् ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा यही पुस २६ गतेदेखि माघ १ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन भइरहेको प्रतियोगितामा आजको खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
त्यसैगरी महिलातर्फ दुई विभागीय टोली नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लब शनिबार फाइनलमा आमनेसामने हुँदैछन् । हेल्प नेपालले चार खेलमा १० अङ्कका साथ फाइनलमा स्थान पक्का गर्दा नेपाल आर्मी चार खेलमा नौ अङ्कका साथ दोस्रो हुँदै फाइनलमा स्थान बनाएको हो । हेल्प नेपालले राउण्ड रोविन लिगअन्तर्गत चौथो खेलमा गण्डकी माथि २५–१८, २५–१६ र २५–२३ को सहज जित निकाल्न सफल भयो ।
पुरुषतर्फ विभागीय टोली नेपाल आर्मीले नेपाल पुलिस क्लब माथि ३–० को सहज जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । आर्मीले २५–१५, २५–१८ र २५–१३ ले पुलिसलाई पराजित गर्न सफल भयो । यसैगरी महिलातर्फ विभागीय टोली नेपाल आर्मी राउण्ड रोविन लिगमा शीर्ष नौ अङ्कका साथ फाइनलमा स्थान बनाउँदै अर्को विभागी टोली एपीएफको सामना गर्ने भएको छ । आजको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसमाथि ३–० को सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।
आर्मीले २१–२५,२५–१८,२५–२० र २५–१३ अङ्कले खेल जित्दै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफले आठ अङ्कका साथ द्वितीय स्थान बनाएको छ । आज सम्पन्न अर्को खेलमा नेपाल पुलिसले न्यू डायमण्डमाथि ३–०को सोझो सेटमा जित निकाल्यो ।
डायमण्डले नेपाल पुलिस क्लबसँग सोझो सेटमा हार बेर्होन बाध्य बनेपछि एपीएफले दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो । हिजो खेल चल्दै गर्दा अध्यारो भएपछि स्थगन गरिएको खेलमा पुलिसले २५–२०, २५–२० र २५–२३ अङ्कले खेल जितेको हो । प्रतियोगिताको उपाधि विजेता महिला÷पुरुष टोलीले समान रु तीन÷तीन लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान रु एक लाख ५० हजार, तृतीय हुने महिला÷पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद रु ३५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यसै गरी महिला तथा पुरुष तर्फ उत्कष्ट एक÷एक खेलाडीलाई समान रु २५÷२५ हजारका दरले पुरस्कार प्रदान गरिनेछ । यसैगरी उत्कृष्ट पाँच विद्याका खेलाडीलाई जनही रु १०÷१० हजार र ट्रफीद्वारा सम्मान गरिने प्रतियोगिता आयोजक टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।