
काठमाडौँ । नेपाली काँग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गर्नु आपत्तिजनक भएको बताएको छ । सडक निर्माण रोक्न माग गरेको काँग्रेसले नेपाल र भारतको सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ ।
काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रवार एक वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू-भाग हो भन्नेमा काँग्रेस प्रस्ट रहेको भन्दै महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ, ‘यी भूगोलमा नेपालको भोगाधिकार कायम हुनुपर्दछ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’
संविधान संशोधनमार्फत सांसदले अनुमोदन गरेको नयाँ नक्साको कार्यान्वयन हुनुपर्छ भन्ने राजनैतिक दलहरू एवं नेपाल सरकार समेतको साझा अभिमत भएको काँग्रेसले बताएको छ ।
काँग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ,‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बिचको सबै प्रश्नमा कूटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’
सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्च स्तरीय कूटनैतिक माध्यमबाट खोजिनुपर्दछ भन्नेमा काँग्रेस प्रस्ट रहेको समेत वक्तव्यमा उल्लेख छ ।