टाइगर कप पुरुष भलिबलको उपाधि आर्मीलाई, महिलातर्फ एपीएफलाई

-


     मर्दी न्युज    
     १ माघ २०७८ मा प्रकाशित


पोखरा । दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधी विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितको छ । हेल्प नेपाल स्पोर्ट्स क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधि जितेको हो।

पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । आर्मीले हेल्प नेपालविरुद्ध पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । दोस्रो सेटमा हेल्प नेपाल ट्राइब्रेकरमा २६–२४ ले सेट जित्दै खेल बराबरी गरेको थियो । तर त्यसपछि आर्मीले तेस्रो र चौथो सेट क्रमश: २५–१८, २५–१९ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

यस्तै महिलातर्फको खेलमा विभागीय टिम त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । आज बिहान भएको फाइनलमा एपीएफले आर्मीलाई ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । एपीएफले आर्मीलाई २५–२३, २५–१५, २५–२० ले हराएको हो ।

पुरुषतर्फको च्याम्पियन बनेको आर्मीले उपाधिसँगै ३ लाख प्राप्त गरेको छ । उपविजेता हेल्पले १ लाख ५० हजार पाएको छ ।

यस्तै महिलातर्फको च्याम्पियन एपीएफले उपाधिसँगै नगद तीन लाख प्राप्त गरेको छ । उपविजेता आर्मीले एक लाख ५० हजार प्राप्त गर्दा तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।