
जापान । जापानमा मंगलबार ३२ हजार १ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत वर्ष अगस्ट २० मा हालसम्म उच्च संक्रमण २५ हजार ९ सय ९२ जना भएकोमा त्यसलाई तोड्दै आज हालसम्मकै उच्च संख्यामा संक्रमित थपिएको हो ।
कोरोना संक्रमण उच्च वृद्धि भएपछि सरकारले टोकियोसहित १३ प्रान्तमा अर्धआपतकाल बिस्तार गर्ने भएको छ । जनवरी २१ देखि फेब्रुवरी १३ सम्म अर्धआपतकाल जारी गर्ने तयारीमा रहेको र यस बारे बुधबार औपचारिक निर्णय गरिने जनाएको छ ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १९ लाख ३८ हजार ९ सय छजना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै थप नौ जनाको मृत्यु भएको छ । प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ५८ जना पुगेको छ ।
४७ प्रान्त मध्ये १० प्रान्त १ हजार भन्दा बढी र ३८ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी ओसाकामा ५ हजार ३ सय ९६, टोकियोमा ५ हजार १ सय ८५, आइचीमा २ हजार १ सय ४५, खानागावामा १ हजार ९ सय ९०, साईतामामा १ हजार ६ सय ७२, ह्योगो १ हजार ६ सय ४५, चिबामा १ हजार ४ सय ७८, ओकिनावामा १ हजार ४ सय ४३, फुकुओकामा १ हजार ३ सय ३८, क्योतोमा १ हजार २४ हिरोसीमामा ९ सय, र होक्काईदोमा ६ सय ९८ जना संक्रमित थपिए ।
संक्रमितमध्ये २ सय ६१ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ३४ हजार ३ सय २० जनाको उपचार भइरहेको छ ।
१७ लाख ४३ हजार ७ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार ४५ हजार १ सय ६२ जनाको पिसीआर परीक्षण गरिएको थियो।