
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।
आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रवार टेलिभिजनमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरूबारे जानकारी दिए ।
४७ बुँदामा ६ महिनाको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले यसै महिनादेखि ६० वर्षमाथिका नागरिकलाई ‘बुस्टर डोज’ दिइने जानकारी दिए ।
उनले ८२ वटा झोलुंगे पुल र १७७ किलोमिटर सडक कालेपत्र गर्न सफल भएको पनि बताए ।
यस्तै, उनले एक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौंमा ल्याइने, जीटुजीको माध्यमबाट रासायनिक मल खरिद गरिने, धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेकोलगायत विषयहरू उपलब्धिका रूपमा प्रस्तुत गरे ।