देशभरको मौसममा बदली, वर्षा र हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     ९ माघ २०७८ मा प्रकाशित


पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज बिहान सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका एक, दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा हुने महाशाखाले जानकारी दिएको छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।