माछापुच्छ्रेमा अत्यावश्यक बाहेकका सेवा स्थगन

-


     मर्दी न्युज    
     १० माघ २०७८ मा प्रकाशित


कास्की । माछापुच्छ्रे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि आजदेखि गाउँपालिकाको अत्यावश्यकबाहेकका सेवा स्थगन गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गरी कोरोनाको सम्भावित जोखिम न्यूनीकरण र गर्न गाउँपालिकाबाट प्रवाह हुने सेवा माघ १० गतेदेखि १४ गतेसम्म नियमितरुपमा प्रवाह नहुने जनाएको छ ।

स्वास्थ्यसँग सम्बन्धित र आन्तरिक कामबाहेक अन्य जनसम्पर्कका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले जानकारी दिए । उहाँले भने, “अत्यावश्यक काम सीमित कर्मचारीबाट पनि सुचारु गर्नेछौँ । त्यसबाहेक गाउँपालिकाबाट प्रवाह गरिने अन्य सेवा बन्द गरिएको छ ।” गाउँपालिकाले समुदायस्तरमा समेत सङ्क्रमण फैलिएको र जोखिम उच्च रहेकाले गाउँपालिकावासीलाई सरकारबाट जारी गरिएको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न र घर बाहिर निस्कँदा मास्कको प्रयोग गर्न अपिल गरेको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्द आचार्यले गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, उपाध्यक्ष कृष्णकुमारी दवाडीसहित तीन जना जनप्रतिनिधि, स्वास्थ्यकर्मी नौ जना र तीन जना कर्मचारी सङ्क्रमित भएको जानकारी दिए । गाउँपालिकामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २६ जना रहेको बताइन्छ ।