काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

-


     मर्दी न्युज    
     १४ माघ २०७८ मा प्रकाशित


Mardi News

काठमाडौँ, १४ माघ । काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बिहीबार सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज भर्चुअल माध्यमबाट बस्ने जनाएको हो ।

भर्चुअल माध्यमबाट अपराह्न ३ बजे बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुने छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको जानकारी दिए ।

१४औं महाधिवेशन सम्पन भएर नयाँ कार्यसमिति बनेको डेढ महिनापछि सभापति शेरबहादुर देउवाको प्राथमिकतामा कार्यसम्पादन समिति गठनको एजेण्डा परेको हो । केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिमार्फत पार्टीका आन्तरिक र राष्ट्रिय राजनीतिका महत्वपूर्ण विषयमा निर्णय गर्न सकिने हुँदा देउवाले कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका हुन ।

काँग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् । समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि काँग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन ।

आजको बैठकमा कांग्रेसको संस्थापनइतर पक्षका नेताहरूको असन्तुष्टिबारे पनि छलफल हुने जनाइएको छ । सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र छलफल नै नगरी सत्ता गठबन्धनसँग छलफल गरिरहेको भन्दै संस्थापनइतर पक्षका नेताहरूले असन्तुष्टि जनाएका थिए ।