पोखरा, १५ माघ । सहारा क्बल पोखराले आयोजना गर्दै आएको मोफसलको प्रतिष्ठित फुटबल आहारारा गोल्डकपको २०औं संस्करण आज शनिवार सकिँदैछ । यसपटकको फाइनलमा विभागीय टोली एपीएफ र मनाङ मर्स्याङ्दी उपाधिका लागि भिड्दैछन् ।
दुई दशक लामो इतिहासमा मनाङ मस्र्याङदी क्लबले छैटौँ र सातौँ बाहेकका सबै संस्करणमा सहभागिता जनाएको छ ।
‘क्याराभान गोल्डकप’ सहित ११ पटक फाइनल पुगेको मनाङले छ पटक ट्रफी उचालेको छ । २०औँ संस्करणको जारी प्रतियोगिताको शनिवार हुने फाइनल खेलमा मनाङ सातौँ पटक उपाधिको खोजीमा हुनेछ । मनाङले यसपटक फाइनलमा सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई नयाँ प्रतिस्पर्धी पाएको छ । एपीएफ आहा राराको इतिहासमा दोस्रो पटक फाइनल खेल्दैछ ।
विसं २०६४ मा छैटौँ संस्करणमा पहिलो पटक फाइनल पुगेको एपीएफले अहिलेसम्म उपाधि उचाल्न सकेको छैन । नेपाल पुलिस क्लबसँग २–० ले पराजित भएपछि एपीएफको त्यति बेला उपाधि जित्ने सपना साकार हुन सकेन । आहा रारामा यसपटक १४ वर्षपछि फाइनल पुगेको एपीएफ उपाधिको भोको छ । शनिवार पोखरा रङ्गशालाको मैदानमा उत्रिदा दुबै टोलीलाई इतिहास रच्ने अवसर प्राप्त भएको छ ।
नेपाल पुलिस क्लबसँग समान छ/छ पटक उपाधि जितेको मनाङलाई २०औँ संस्करणको फाइनल जितेर सर्वाधिक ट्रफी उचाल्ने अवसर छ भने एपीएफलाई पनि पहिलो पटक पोखराको मैदानमा उपाधि चुम्ने सुन्दर मौका जुरेको छ ।
मनाङले विसं २०६० को दोस्रो, विसं २०६१ मा तेस्रो, २०६८ को दशौँ, विसं २०७२ मा चौधौँ, विसं २०७३ को पन्ध्रौँ र विसं २०७६ को १८ औँ संस्करणको उपाधि जितेको छ ।
बुधबार र बिहीबार भएको सेमिफाइनल खेलमा एपीएफले थ्रीस्टारलाई १-० गोलअन्तर र मनाङ मर्स्याङ्दीले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
यही माघ ६ गतेदेखी जारी प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको विजेताले रु १० लाख एक हजार र उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही रु २५ हजारका दरले पुरस्कार प्रदान गरिने आयोजक सहाराले जनाएको छ ।