
पोखरा । सर्वाधिक विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै २० औं आहारारा गोल्डकपको उपाधि विभागीय टिम एपीएफले जितेको छ । १४ वर्षपछि दोस्रो पटक फाइनल पुगेको एपीएफले उपाधि चुम्न सफल भएको छ ।
निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरका आधारमा गरिएको थियो ।
पेनाल्टी सुटआउटमा ओलावाले अफिज असफल भएपछि ६ पटकको च्याम्पियन मनाङ उपाधिबाट बञ्चित बन्यो । एपीएफसँग हारसँगै मनाङको ७ औं पल्ट उपाधि चुम्ने सपना विफल भएको छ ।
एपीएफका नविन लामा, सनिस श्रेष्ठ, रवि थिङ, मणी लामा, अर्मान्ड बिडोम पेनाल्टी सुटआउटमा सफल बने ।
मनाङको तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए ।
उपाधि सहित एपीएफले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता मनाङले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।