विकास, समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु सहिदप्रतिको सच्चा श्रद्धाञ्जली : राष्ट्रपति

-


     मर्दी न्युज    
     माघ १६ गते २०७८ मा प्रकाशित


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गरेकी छन् ।
सहिद दिवस, २०७८ का अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छन् ।

राष्ट्रपतिले वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज निर्माण गर्ने सहिदको आकांक्षालाई साकार बनाउन सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमानदारीका साथ पूरा गर्नका लागि यस दिवसले थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा व्यक्त गरेकी छन् ।
सहिद दिवस, २०७८ का अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञातअज्ञात अमर सहिदहरूप्रति राष्ट्रपतिले श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

सहिद दिवस देशका लागि प्राण आहुति गर्ने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको स्मरण गर्दै उनले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउँदै स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक दृष्टिले एक विकसित राष्ट्र निर्माण गर्न आफ्नो जीवन बलिदान गरेको बताएकी छन् । उनले वीर वीरंगानाहरूको सम्झना गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवसका रूपमा मनाइँदै आइएको स्मरण गरेकी छन् । रासस