म्याग्दी रत्नेचौरको तोरीबारीमा टीकटक बनाउन रोक

-


     मर्दी न्युज    
     माघ १६ गते २०७८ मा प्रकाशित


पछिल्लो समय टीकटकजस्ता सामाजिक संजालमा भाइरल बनिरहेको म्याग्दी रत्नेचौरको तोरीबारीमा घुम्न जान रोक लगाइएको छ।

कोरोनाभाइरसको महामारी वृद्धि हुँदै गएकोले यहाँको तोरीबारीमा धेरै भीडभाड बढेको हुँदा जिल्ला प्रशासन कार्यालय म्याग्दीले प्रवेशमा रोक लगाएको हो ।

कोरोनाभाइरसका सङ्क्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी-१ का वडाध्यक्ष टेकबहादुर रावलले जानकारी दिए ।

वडाध्यक्ष रावलका अनुसार शनिबार तोरीबारीमा एकदमै भीडभाड बढेपछि जिल्ला प्रहरी कार्यालय बेनीबाट टोली परिचालन गरिएको छ भने आइतबार बिहानदेखि नै घुम्न आउने पर्यटकलाई प्रहरीले फर्काउन थालेको छ ।

पहेँलो तोरीबारीको बीचमा कालोपत्र गरिएको सडकको मनमोहक दृश्य देखिन्छ। यही दृश्य हेर्न मानिसहरू आउने गरेका छन्। तोरीबारीको फोटो, भिडिओ सामाजिक सञ्जालमा भाइरल भएका कारण मानिसहरूको भीड बढेको वडाअध्यक्ष रावलले बताए।