फाईल फोटोः मनशान्त घिमिरे
देशभर हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज रातिदेखि यसको प्रभाव बढ्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पहाडी भू–भागमा आंशिक बदली छ भने बाँकी भागमा सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेस प्रदेशमा मौसम सामान्यतया सफादेखि आंशिक बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा साथै गण्डकी, वाग्मती र प्रदेश–१ का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १, मधेश, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।