देशैभर वर्षा र हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     माघ २० गते २०७८ मा प्रकाशित


पोखरा । देशमा पश्चिमी वायुको प्रभावका कारण सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थान तथा गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य प्रदेशका पहाडी भूभागहरुका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा तथा वाग्मती प्रदेश र प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै आज राति पनि देशभर सामान्य देखिपूर्ण बदली रहनेछ भने देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेका कारण चिसो बढ्ने र यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।