युक्रेन तनाव: अमेरिकाले थप सेना युरोप पठाउने

-


     मर्दी न्युज    
     २० माघ २०७८ मा प्रकाशित


एजेन्सी । युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ।

करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइनेछ भने हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्नेछन्। उक्त अमेरिकी निर्णयलाई रुसले “विनाशकारी” कदम भनेको छ।

रसियाले युक्रेन अतिक्रमणको योजना बनाएको अमेरिकालगायत पश्चिमेली देशहरुले आरोप लगाउँदै आएका छन् । तर, मस्कोले सो आरोप अस्वीकार गर्दै आएको छ । रुसले युक्रेनसँगको सीमामा यसअघि नै एक लाख सुरक्षाकर्मी तैनाथ गरेको छ ।

आठ वर्षअघि रुसले युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई आफ्नो भूभागमा बिलय गराउन सफल भएको थियो ।

युक्रेनले पूर्वी युक्रेनको दोनबास क्षेत्रमा शान्ति कायम गर्ने बारे भएको अन्तर्राष्ट्रिय सम्झौता पालना नगरेको रसियाले आरोप लगाउँदै आएको छ । दोनबासमा रसिया समर्थित विद्रोहीले ठूलो भूभाग नियन्त्रणमा लिएका छन् ।

विद्रोही र युक्रेनका सुरक्षाकर्मीबीच सन् २०१४ देखि भएको युद्धमा कम्तिमा १४ हजार जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।