फाईल फोटोः मनशान्त घिमिरे
सुनसरी । चराहरुको स्वर्ग भनेर चिनिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा सन् २००० मा भेटिएको ठूलो सिलसिले हाँस २२ वर्ष पछि पुन अभिलेख भएको छ । नेपालकै पहिलो सिमसार क्षेत्र समेत रहेको उक्त आरक्षमा पंछी अवलोकनका क्रममा कोशी पंछी समाजका निवर्तमान अध्यक्ष अनिश तिम्सिना र सदस्य जीवन विश्वकर्माले यस फिरन्ते प्रजातिको हाँसलाई हिजो कुशाहा नजिकैको सिमसारमा भेटेका हुन् ।
अन्य स्थानमा भन्दा प्राय गरि सुनसरीको वर्जु तालमा देखिने यो प्रजाति सन् १९७९ मा कोशी ब्यारेज क्षेत्रवाट नेपालका लागि पहिलो पल्ट अभिलेख भएको थियो । रुपन्देहीको लुम्बिनी क्षेत्र तथा कपिलवस्तुको जगदिशपुर जलाशयमा समेत भेटिएको यो हाँस सवैभन्दा बढी सोह्रवटा सम्म देखिएको नेपालको संकटापन्न चराहरुको रातो किताबमा उल्लेख गरिएको छ ।
अग्रेजीमा फलबस हुइसलिङ डक भनिने यस प्रजाति कुशाहाको हात्तिसार नजिकै कोशीटप्पु लर्निङ ग्राउण्ड नामक संस्थाको सहकार्यमा संरक्षण गरिएको सिमसार क्षेत्रमा भेटिएको थियो । अबलोकनकर्ताद्धय उक्त संस्थामा कार्यरत कर्मचारीहरु हुन् । स्मरणीय छ, उक्त सिमसारमा विरल हिउँदे आगन्तुक फुर्के हाँस गत वर्ष अभिलेख गरिएको थियो ।