
सानो खैरो गिद्ध, फाईल फोटो: मनशान्त घिमिरे
गण्डकी । कल्पना गरौ, हाम्रो परिवारमा शिशुको जन्मने खुशीयाली छाइरहेको बेला अकस्मात कसैले घरबास भत्काइदियो, काख रित्तो बनाइदियो भने कति पीडा हुन्छ ? हो, आफ्नो घरबास र बच्चाको माया अरु प्राणीहरुमा पनि यस्तै हुन्छ ।
हामी त हारगुहार गर्छौ, सहयोगको याचना गर्छौ, कानुनी उपचार रोज्छौ, राज्यसँग अधिकार माग्छौं तर ति अबोध चराले के गर्न सक्छन र बिचरा । संसारको सबैभन्दा शक्तिशाली र बौद्धिक ठान्ने मान्छेको कुकर्म र निर्दयीयता हेर्नुको बिकल्प छैन उनिसँग । धिक्कार छ हामीलाई ।
नेपालमा पाईने ९ प्रजातीका गिद्धमध्ये सबैभन्दा कम संख्यामा पाइने अति संकटापन्न सानो खैरो गिद्धको गुँड भएको रुख काटेको भिडियो सामाजिक सञ्जालमा भाईरल भएको छ जसले जनमानसलाई स्तब्ध बनाएको छ ।

नेपालमा ७५ भन्दा कमको संख्यामा र गुँड देशभर अधिकम ७ को संख्यामा अभिलेख गरिएको अतिसंकटापन्न यस गिद्ध ओथारो बसिरहेको अवस्थामा सचेतना र वकालतलाई लत्याउँदै रुख काटी निर्माण कम्पनीले वातावरणीय मात्र होइन मानवीय संवेदना पनि देखाएन ।
बर्षौ बिलम्ब गर्ने निर्माण कम्पनीले बचेरा हुर्काउन्जेलको २ महिना कुर्न गरिएको अनुरोधलाई गरिएको बेवास्ता बिश्व संरक्षण समुदायमा एक लज्जास्पद घटना हो । विकास निर्माणको बेला उक्त स्थानमा चरा र अन्य वन्यजन्तुले प्रजनन गरिरहेको पाइए प्रजनन अवधिभर कार्यक्रम स्थगित गर्ने आम प्रचलन छ तर हाम्रोमा त्यसको ठिक बिपरीत छ । पहिला त्यस्ता रुख वा स्थान नष्ट गर्ने ।
सडकमा छोडिएका छाडा चौपायाहरुलाई संकलन गरी गौरक्षा केन्द्र स्थापना गरेर गिद्ध संरक्षणमा सहयोगी भूमिका निभाएर वाहवाही पाइरहेको अबस्थामा एक अति संकटापन्न गिद्धले बनाएको गुँड जोगाउनका लागि सम्बन्धित निकायले ध्यानाकर्षण गराउँदा समेत उक्त गुँड तथा सिंगो रुख जोगाउन अन्तत शुक्लागण्डकी नगरपालिका प्रमुख, सिंगो कार्यपालिका तथा सडक डिभिजन कार्यालय दमौली चुकेको छ त्यस कार्यलाई जति भर्त्सना गर्दा पनि साध्य छैन ।
पोखरा पंछी समाजले गत महिना उक्त सिमलको रुखलाई वच्चा हुर्कन्जेल नकाट्नका लागि सडक डिभिजन कार्यालय दमौली र शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसन गुरुङलाई कार्यकक्षमै भेटि ज्ञापनपत्र बुझाएको थियो । त्यसैगरि नगरपालिकाको २ नम्बर वडाका वडाध्यक्षलाई समेत कार्यालयमै भेटी जानकारी समेत दिएको थियो । उक्त समयमा नगर प्रमुख गुरुङले डिभिजनल वन कार्यालय, सडक कार्यालय, ठेकेदार कम्पनीलाई जानकारी गराई रुख नकाट्ने बचनबद्धता गरेका थिए ।

संरक्षणको कुरा गर्दा विकास विरोधीको अलंकार पहिराई दिने यस देशमा अझ पंछी संरक्षण फलामका च्युरा सरह रहेको छ । के सडक तथा विकास हामीलाई चाहिएको छैन र ? अवश्य आवश्यक छ तर पर्यावरणीय सन्तुलन तिर किन ध्यान दिईदैन ? मुग्लिङ पोखरा सडकखण्डको वातावरणीय प्रभाव मुल्याङ्कन कहाँ छ, त्यहाँ के भनिएको छ, कहाँ सार्वजनिक गरियो ? करिब ७ हजार रुख काट्ने मात्र त भनिएको छैन होला नि ?
गिद्ध भन्दा, सुन्दा र देख्दा जति समाजले घृणा पैदा जनाउँछ त्यो भन्दा लाखौगुणा फाईदा यिनीहरुले सिंगो मानब जाती र पर्यावरणीय सन्तुलनमा आफ्नो उपस्थिती जनाएका छन् । मरेका जनावरको कुशलतापुर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको संख्यामा बृद्धिलाई रोकी मानिसमा रेविज, प्लेग, हैजा, आँऊ, झाडापखाला आदि सरुवा घातक रोगहरू र पशुचौपायाहरुमा एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरुको महामारीबाट बचाउँछ ।
एकातिर राज्यले गिद्ध संरक्षणमा कार्ययोजना बनाएर विश्वमै अनुकरणीय कार्य गरिरहेको छ र बर्षेनी करोडौं मुल्य खर्च गरि रहेको छ भने अर्कोतर्फ राज्यका कतिपय निकायहरु गिद्ध संरक्षणमा खासै महत्व दिएका छैनन् जसको उदाहरण बनेको छ शुक्लागण्डकीको विशाल सिमलको रुख र अबोध पंछी ।
अबको विकल्प कि त मानिसले सिनो खानु पर्यो हैन भने सिनो खाने गिद्धलाई बचाउनु पर्यो । गिद्ध संरक्षणमा समुदाय स्तरबाटै हातेमालो गरौं ।
