
पोखरा । पोखरामा रहेको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य अन्तर्राष्ट्रिय पर्वतिय संग्रहालयको उन्नाइसौँ स्थापना दिवस (फेब्रुअरी ५ तारीख) बिबिध कार्यक्रमका साथमा भब्यतापुर्बक मनाइएको छ ।
अघिल्लो बर्षहरुमा नेपाल पर्वतारोहण संघ, केन्द्रका पदाधिकारीहरुको बिशेष उपस्थितिमा औपचारिक कार्यक्रम गरेर मनाइने स्थापना दिवस यो बर्ष भने संक्षिप्त रूपमा मनाइएको हो ।
बौद्धग्रन्थका ज्ञाता, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले पर्वतारोहीहरु प्रती समर्पित छ्योर्तेन नेर धुपधुँवा, मन्त्रोच्चारण, पुजापाठ गर्नुका साथै ध्वजापताका (लुङ्ता) फेर्ने काम गरि शान्ति तथा प्रगतिको कामना गर्नुभयो । त्यस लगत्तै संग्रहालय भित्र रहेको ल्ह खाङ्ग (पुजा कोठा) मा पुजा गर्नुभयो ।

दिउँसो ३ बजे संग्रहालयमा कार्यरत कर्मचारीहरु, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्यहरु, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थितिमा संग्रहालय स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका स्व.डा. हर्क गुरुङ, स्व. कुमार खड्क बिक्रम शाह, स्व. दावा नोर्बु शेर्पाको शालिकमा माल्यार्पण र संग्रहालयको झन्डोत्तोलन गरि केक काटेर खुशी साटासाट गरि स्थापना दिवस मनाइएको थियो ।
छोटो औपचारिक कार्यक्रमको संचालन गर्नुभएका अन्तर्राष्ट्रिय पर्बतीय संग्रहालय समितिका सदस्य जीवनराज सापकोटाले बार्षिक कार्य प्रगति विवरण पेश गर्नुभयो । वरिष्ठ सदस्य हरि प्रसाद लामिछानेको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि संग्रहालयका सल्लाहकार हरिध्वज तुलाचन हुनुहुन्थ्यो । कार्यक्रमकै दौरान बर्षको उत्कृष्ट कर्मचारीको रूपमा देबि पौडेल लाई दोसल्ला, सम्मान पत्र तथा नगद दस हजार रुपैयाँ सहित पुरस्कृत गरिएको थियो ।
स्वागत मन्तव्य राख्ने क्रममा कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनको बढ्दो त्रास र प्रशासनले कायम गरेको स्वास्थ मापदण्डको कारण संक्षिप्त रूपमा स्थापना दिवस मनाउन परेको संग्रहालयकी कार्यकारी निर्देशक निर्मला कुमारी न्यौपानेले मर्दी न्युजलाई बताउनुभयो ।





फोटाहरुः मर्दी न्यूज