
काठमाडौँ । नियमसंगत काम नगरेको भन्दै पाइलट विजय लामाको राजीनामा माग गरिएको छ ।
नेपाल वायुसेवा निगममा कार्यरत क्याबिन क्रू(परिचारिका र परिचारक)ले पाइलट लामाको राजीनामा मागेका हुन् ।
नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले बुधवार निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेसन विभाग प्रमुख दिपुराज जुहार्चनलाई ज्ञापनपत्र बुझाउँदै पाइलट लामालाई क्रु डिभिजनबाट निकाल्न भनेका हुन् ।
पाइलट लामा क्याबिन क्रुलाई खटनपटन गराउने अपरेसन विभाग मातहत क्याबिन क्रू डिभिजनको उपनिर्देशक पनि हुन् ।
‘लामाको काम गर्ने शैली विधिसंगत नभएको तथा नियम पालना नगरी आफूखुसी निर्णयहरू गर्दा विमान परिचारिका र परिचारकको मनोबलमा असर परेको उनीहरूको भनाई छ । उनीहरूले निगम व्यवस्थापनलाई श्रम ऐन विपरीत लामो समयदेखि करारमा राखिएकाले नियमित रोजगारीमा नियुक्ति दिलाउन, हालको कायम अवकाश उमेर ४५ लाई ५८ वर्ष पुर्याउन, उडान भत्ता समयानुकूल समायोजन गर्न, क्याबिन क्रु डिभिजन प्रमुखमा महिला कर्मचारीलाई राख्नुपर्ने लगायत माग राखेका छन् ।
हाल निगममा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि १ सय ५८ क्याबिन क्रु कार्यरत छन् । जसमा एयरहोस्टेस(महिला) ८० जनाको हाराहारी छन् भने बाँकी ८० स्टेवार्ड(पुरुष परिचारक) रहेका छन् । जसमध्ये ६ जना एयरहोस्टेस मात्रै स्थायी हुन् भने बाँकी सबै करारमा कार्यरत छन् ।
पाइलट लामा ५८ वर्षे उमेर हदका कारण एक महिनापछि अनिवार्य अवकाशमा जाँदै छन् ।
