आजदेखि कुर्था–जनकपुर–जयनगर रेल चल्ने

-


     मर्दी न्युज    
     फागुन १ गते २०७८ मा प्रकाशित


जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा आजदेखि रेल सञ्चालन गरिने भएको छ । यसअघि रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आजदे्खि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

तत्कालका लागि यात्रुबिनाको रेल चलाउन लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको झाले बताए ।

‘आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुन्छ’, महाप्रबन्धक झाले भने, ‘तर, तत्काल हामी बिना यात्रुको (ड्राई रन) रेल सञ्चालन गर्छौ, हप्ता १० दिनमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेपछि मात्रै यात्रुलाई राखेर दैनिक तीन पटक सेवा सञ्चालन गर्छौ ।’

६० नेपाली र १४ भारतीय कर्मचारी आजदेखि काममा खटिनेछन् । १२ भारतीय कर्मचारी उद्घाटनपछि आउने बुझिएको छ ।

नेपाल सरकारले बोगिसहितको दुई वटा रेल खरिद गरेको झण्डै १५ महिनापछि रेल सेवा सञ्चालन हुन लागेको हो । ०७७ असोज २ गते भारतीय कम्पनीबाट ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरिएका रेल लामो समयदेखि धनुषाको ईनवा स्टेसनमा त्रिपाल मुनि छोपिएर राखिएको थियो । रेल्वेको सुरक्षा भने सशस्त्र प्रहरी नेपाललाई दिइएको छ ।

यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ । कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ । रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए ।