आज संसद बैठकः एमसीसी टेबुल हुने सम्भावना

-


     मर्दी न्युज    
     ४ फाल्गुन २०७८ मा प्रकाशित


काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका हुन ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्ने सम्भावना रहेको छ । यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन् । नेपाली कांग्रेसको मंगलबार सम्पन्न संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए ।

त्यसैगरी मंगलबारकै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकमा एमसीसी टेबल हुने बताएका थिए ।

संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । त्यसमा पनि संसद् बैठकका कार्यसूचीलगायतका विषयमा छलफल हुनेछ ।