गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

-


     मर्दी न्युज    
     फागुन ६ गते २०७८ मा प्रकाशित


भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान सुरु हुने भएको छ। परीक्षण उडानका लागि थाइल्याण्डबाट विशेष विमान बिहीबार साँझ भैरहवा विमानस्थलमा आइपुगेको छ।

विमानस्थलमा परीक्षण उडानका लागि नेपाल आएको एरो थाइ विमानले एक हप्तासम्म भैरहवा क्षेत्रको आकास खाली गरेर क्यालिब्रेसन प्रकिया पूरा गर्नेछ ।

विमानस्थल सञ्चालनअघि जडान गरिएको सञ्चार उपकरणहरुको परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। जसबाट जडान गरिएका उपकरणहरु ठीक भए-नभएको बारे रिपोर्ट आउँछ। सोहीअनुसार थप प्रक्रियाहरु अघि बढाइन्छ।

उक्त एरो थाइ विमानले शुक्रबारदेखि विमानस्थलमा जडान गरिएका सञ्चार उपकरण र धावनमार्गमा जडान गरिएको लाइटिङको परीक्षणका लागि उडान सुरु गर्ने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए।

‘शुक्रबार बिहानदेखि सम्भवतः ७-१० दिनसम्म विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणलगायतको परीक्षणका लागि क्यालिब्रेसन फ्लाइट हुन्छ,’ उनले भने, ‘क्यालिब्रेसन फ्लाइटले जडान गरिएको उपकरणहरु ठीक छन् वा छैनन् भन्ने देखाउँछ।’

क्यालिब्रेसन उडानका लागि बनाइएको योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणहरुको जाँच गरिने, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायतका परीक्षणहरु हुनेछ।

‘विमानस्थलको भौतिक संरचना र जडान गरिएको उपकरणको हिसाबले शुक्रबारदेखि क्यालिब्रेसन उडानका सुरु गर्दैछौं,’ प्रमुख अधिकारीले भने, ‘यो विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा मान्यता प्राप्त गराउनका लागि क्यालिब्रेसन उडान हाम्रो लागि पहिलो पाइला हो।’

अगामी ०७९ साल जेठ २ गते बुद्ध जयन्तीका दिन विमानस्थल सञ्चालन गर्ने लक्ष्य राखिएको छ।