
काठमाडौं । काठमाडौँको कल्कीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुई वटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
विहानै सडकमा केही शंकास्पद बस्तु देखेपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरिएको थियो ।
अहिले सेनाको बम डिस्पोजल टोलीले एउटा निस्क्रिय बनाएको र अर्को बनाउने क्रममा रहेको महानगरीय प्रहरी प्रभाव कलंकीका प्रहरी नायव निरीक्षक गोबिन्दबहादुर नायकले बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधवार नेपाल बन्दको आयोजना गरेका थिए।
एमसीसीको विरोधमा काठमाडौँमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरू भइरहेका छन् । बम राख्नेहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।