प्रदर्शन रोक्न वानेश्वर क्षेत्रमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन

-


     मर्दी न्युज    
     फागुन ६ गते २०७८ मा प्रकाशित


काठमाडौँ । सरकारले काठमाडौँको माइतीघरदेखि बानेश्वर चोकसम्म ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध विभिन्न दलहरूको विरोध प्रदर्शनलाई लक्षित गर्दै सो संख्यामा प्रहरी परिचालन गरिएको हो । नयाँ बानेश्वर, माइतीघर, बबरमहल क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरेको हो ।

आज विभिन्न राजनीतिक दल र मोर्चाले विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मसाल)लगायत दल र मोर्चाले प्रदर्शन गर्न लागेका हुन् ।

माइतीघरबाट संसद् भवनअगाडि नयाँ बानेश्वरसम्म संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले एमसीसी अनुमोदनको लागि टेबल गर्ने सम्भावना बढेकोले पनि उनीहरूले विरोधका कार्यक्रमहरू राखिएका हुन् ।