गठबन्धनलाई पानीमुनि गए पनि छाड्दैनौँ : ओली

-


     मर्दी न्युज    
     फागुन ७ गते २०७८ मा प्रकाशित


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गरे ।

‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं’, ओलीले भने’, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए ।

उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने, ‘देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।’

एमाले अध्यक्ष केपी ओली नेतृत्व सरकारले देशभर ३९६ वटा अस्पताल एकैपटक शिलान्यास गर्दा शिलान्यास गरिएको यस अस्पतालमा नगरपालिकाको रकम र सांसद महेश बस्नेतको सांसद विकास कोषको रकमबाट अस्पताल सञ्चालनमा ल्याइएको हो । नगरपालिकाको रु आठ करोड र सांसद विकास कोषको रु ७५ लाख लागनीमा भवन निर्माण गरी सुरु भएको अस्पताल अहिले २५ शय्याको रहेकामा आगामी दिनमा प्रदेश सरकारसँग शय्या थपको स्वीकृति लिएर ५० शय्या हुँदै १०० शय्यासम्म पु¥याउने लक्ष्य रहेको छ।नगरपालिकाले नगरका बासिन्दालाई आफ्नै अस्पतालबाट स्वास्थ्य बीमा सेवासमेत उपलब्ध गराउने भएको छ ।