
गण्डकी । कलाकार पल शाहविरुद्ध जबर्जस्ती करणीको जाहेरी दर्ता भएको छ ।
एक गायिकाले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार एक किशोरीले शाहविरुद्ध बुधबार जबर्जस्ति करणीको उजुरी दर्ता गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका एक अधिकारीका अनुसार उजुरी परेपछि शाहविरुद्ध कानुनी प्रक्रिया अगाडि बढिसकेको छ । उजुरीमा आफू नाबालिग रहेको बेला शाहले जबर्जस्ती करणी गरेको उल्लेख गरिएको ती अधिकारीले बताए ।
एक महिनाअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी पुगेको खुलेको छ ।
कास्की एक प्रहरी अधिकारीकाअनुसार उमेर नपुगेकी किशोरीलाई विवाहको प्रलोभनमा यौन शोषण गरेको उजुरी लिएर पीडित परिवार प्रहरी कार्यालय आएको थियो । उजुरीका सम्बन्धमा कास्की प्रहरीले छलफल गरेर तनहुँ प्रहरीमा दर्ता गर्न सुझाएको थियो ।
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) छ । उक्त दफाले कसैले कुनै महिलालाई निजको मंजुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ भन्ने व्यवस्था छ । ती गायिका नाबालिका हुन् ।
यस्तो छ जाहेरीमा उल्लेख विवरण :
निज पूर्ण विक्रम शाह (पल शाह) ले देखावटी रुपमा माया प्रेम गरेको बहाना गरी भिडियो सुटिङ तथा अन्य भेटघाटको क्रमलाई बढाउँदै लगी धेरै नै रेखदेख, हेरचाह गरेजस्तो गर्दै आएका रहेछन् । निज पूर्ण विक्रम शाह र मेरी नाबालिका छोरीले संयुक्त रुपमा धेरै म्युजिक भिडियोमा सँगै मोडलको रूपमा काम गर्ने क्रममा पोखरा, चितवन, बागलुङ, तनहुँ समेतका स्थानमा सुटिङ सकेर राति होटलहरूमा बास बस्ने क्रममा पटक पटक जबरजस्ती करणी गर्न खोजेकोमा छोरीले असहमति जनाएका कारण सफल हन नसकेको रहेछ ।
यस क्रममा २०७७/१२/३१ गते बागलुङ जिल्लाको गलकोट महोत्सवमा प्रतिवादी पूर्ण विक्रम शाह, दुर्गेस थापासमेतका कलाकारहरूसँग मेरी नाबालक छोरी एकै गाडीमा बागलुङको गलकोट गएकोमा उक्त स्थानमा जाँदा र फर्कँदा निज प्रतिवादी र मेरी छोरी एकै सिटमा यात्रा गर्दाको बखत समेत बाल यौन दुरुपयोग गरी संवेदनशील अङ्गमा चलाउने, जिस्काउने , समात्ने जस्ता कार्य समेत गरेको र मिति २०७८/०१/०२ गते काठमाडौँ पुगी छोरी आफ्नो कोठामा गई बसिन्, र काठमाडौँको बसाईमा सामान्य भेटघाट समेत गर्दै आइरहेका रहेछन्, त्यसपछि छोरी घरमा आई १ हप्ता जति बसे पश्चात् निज प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह) ले फोन गरी सुटिङको लागी म पोखरा आउँदै छु, तिमीलाई म भेट्छु, भनी पोखरा स्थित लेकसाईडमा भेटघाटको लागी बोलाई भेटघाट गरी लकडाउनको हल्ला चलेको हुँदा छोरी पनि काठमाडौँ जानु पर्ने भएको हुँदा मिति २०७८/०१/१४ गते साँझ १९:०० बजे पोखराबाट काठमाडौँ फर्किने क्रममा जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका न.पा वडा नं. ४ दुलेगौडा स्थित प्रतिवादीको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा बसेका अवस्था नाबालिका छोरी दिन भरीको थकानले खाना खाएपछि उक्त घरको दोस्रो तलामा सुत्न गएकी र प्रतिवादी पूर्ण विक्रम शाह र कमल खत्री भन्ने व्यक्ति सोही घरको छुट्टै कोठामा राती अन्दाजी ११ बजेसम्म रक्सी खाएर बसेको र राती अं. १२ बजे तिर निज प्रतिवादीले छोरीको म्यासेन्जरमा म तिम्रो कोठामा आउँछु भनेर म्यासेज गरेको र तुरुन्तै छोरीको कोठा ढक ढक गर्न आएका रहेछन् ।
छोरीले कोठा खोलिदिए पश्चात् निज प्रतिवादी छोरी सतेको कोठामा आएर छोरीलाई ललाई फकाई माया प्रेम गरेको बहाना बनाइ तिमीले काठमाडौँको कोठा सर्नपर्यो म तिम्रो कोठामा दिन दिनै आउँछु, तिम्रो बारेमा नराम्रो कुरा सुने भने मैले राम्रो मान्दिनँ भनी उमेर पुगे पछि विवाह गर्छु धोका दिन्न भन्ने विश्वास दिलाई छोरीको असहमति हुँदा हुँदै पनि जबर्जस्ती करणी गरेका रहेछन् ।
छोरीलाई माया गरेको देखाउनुको लागि वारदातको भोलिपल्ट ढोर वाराही मन्दिर समेत घुमाई, दुलेगौंडाको सुटिङ सकेर काठमाडौँ गएका रहेछन् ।