प्रतिनिधि सभा आज बस्दै, एमसीसी सम्झौताबारे छलफल हुने

-


     मर्दी न्युज    
     १२ फाल्गुन २०७८ मा प्रकाशित


काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि स्थगित भएको संसद बैठक आज बस्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक अघि, बिहान ११ बजे बस्ने गरी कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

संघीय संसद सचिवालयले बुधवार सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा पनि एमसीसी सम्झौतामाथि छलफल हुने उल्लेख छ । सम्भावित कार्यसूची अनुसार बैठक अघि बढे आज एमसीसीबारे छलफलको प्रस्ताव पेस हुनेछ।

गत आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता पेस गरेका थिए ।

एमसीसीबारे छलफल सुरु हुने भएकोले नेपाली काँग्रेसले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइसकेको छ ।

एमसीसी सम्झौता पारित गर्न संसदमा टेबल भए पनि सत्ता साझेदार दलहरू अझै पनि एकमत भएका छैनन् ।

साझेदार दलसँग एमसीसीबारे मत विभाजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसित पनि छलफल गरिरहेका छन् ।