जापानको शिशु जन्मदर घट्यो

-


     सन थापा    
     फागुन १३ गते २०७८ मा प्रकाशित


जापान, १३ फागुन । सन् २०२१ मा जापानको शिशु जन्मदर कीर्तिमानी रूपमा घटेको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा ३.४ प्रतिशत घटेको जनाएको छ ।

गत वर्ष जापानमा ८ लाख ४२ हजार ८ सय ९७ जना शिशु जन्मिएका थिए । शिशु जन्मदर लगातार ६ वर्षदेखि घट्दै आएको छ । सन् १८९९ देखि शिशु जन्मदरको तथ्याङ्क राख्न सुरु गरिएको हो ।


मन्त्रालयका अनुसार गत वर्ष जापानमा १४ लाख ५२ हजार २ सय ८९ जनाको मृत्यु भएको छ । जुन सन् २०२० को तुलनामा ९७ हजार बढी र दोस्रो विश्वयुद्धको अन्त्यपछि सबैभन्दा धेरै हो । त्यस्तै सन् २०२१ मा ५ लाख १४ हजार २ सय ४२ जनाले विवाह गरेका छन् । अघिल्लो वर्षको तुलनामा २३ हजार भन्दा कम संख्या हो ।

मन्त्रालयका अधिकारीहरूका अनुसार कोरोना भाईरस संक्रमणको चिन्ताले विवाहित जोडीमा गर्भधारणमा अनिच्छाका कारण जन्मदर घटेको र संक्रमणका कारण मृत्युदर बढेको हुन सक्ने सञ्चार संस्था एनएचके समाचारमा उल्लेख गरेको छ ।