काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आज आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ ।
दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बिचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।
प्रतिनिधिसभाको बैठकअघि बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समिति बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएको छ ।
यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो । गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।