रतुवा मृग मारेको आरोपमा पक्राउ

-


     मर्दी न्युज    
     फागुन १७ गते २०७८ मा प्रकाशित


खाँदबारी । संखुवासभाको चैनपुर नगरपालिका–७, बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७, फलाटे बस्ने ३५ वर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए ।

अस्थायी प्रहरीचौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको मृत रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताए । रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एकथान भरुवा बन्दुक समेत फेलापरेको प्रहरी प्रहरी निरीक्षक खतिवडाले बताए ।

पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत संखुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । थप अनुसन्धानका लागि मृत मृगलाई चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको प्रहरी निरीक्षक खतिवडाले बताए । पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ । रासस