
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ नल्लुमा दुई दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । चार जनाको घरभित्रै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङताङ, उनकी बुहारी २२ वर्षीया शुष्मा स्याङताङ, नाती ९ वर्षीय आशिष स्याङताङ र नातिनी ५ वर्षीय आस्मा स्याङताङ छन् ।
उनीहरु आफ्नै घरभित्र आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । उपचारको क्रममा दुई दिनको अर्का एक नाबालकको पनि मृत्यु भएको छ ।
गम्भीर अवस्थाका २२ वर्षीय शुभ तामाङको अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरु सुतेको कोठामा आगो बालेको कोइला फेला परेको प्रहरीले जानकारी दिएको छ । निस्सासिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।