ताप्लेजुङ सदरमुकाममा आगलागी, एक वृद्धाको मृत्यु

-


     मर्दी न्युज    
     फागुन २७ गते २०७८ मा प्रकाशित


ताप्लेजुङ, २७ फागुन । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा भएको आगलागीमा एक वृद्धाको मृत्यु भएको छ ।

मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्ने ६७ वर्षीया वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ भने रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले जानकारी दिए ।

स्थानीयवासीका अनुसार आज बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो ।

आगलागी बाट भएको क्षतिको विवरण आउन बाँकी छ । प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो ।