
काठमाडौँ। पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ ।
गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार अब एक दिन बिराएर रेल चल्नेछ ।
रेल सञ्चालनका लागि कम्पनीको तर्फबाट सम्पूर्ण तयारी भइसकेको भएपनि कानुन अभाव भएका कारण यात्रुसहितको रेल सञ्चालन हुन नसकेको महाप्रबन्धक झाले बताए । “प्राविधिक रूपमा सबै तयारी भइसकेको छ, कर्मचारी पनि नियुक्ती भएर काममा खटिसकेका छन्, भाडादर पनि निर्धारण भइसकेको छ । कानुन अभावमा औपचारिक रुपमा रेल सञ्चालन गर्न सकिएको छैन”, उनले भने ।
झाले फागुनको दोस्रो साता नै नेपाल र भारतका प्रधानमन्त्रीबाट संयुक्त रूपमा रेलको उद्घाटन गराउने तयारी भए पनि कानुनकै अभावमा हुन नसकेको बताए ।
उनले संघीय सरकारले पुनः रेल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको भन्दै सम्भवतः सोमबारसम्म अध्यादेश आउने बताए । अध्यादेश आएर कानुन बनिसकेपछि उद्घाटन भएर रेल सेवा नियमित हुने उनले बताए ।
गत मंसिर १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेलवे सञ्चालनसम्बन्धी अध्यादेशको प्रस्ताव ल्याएको थियो । ६० दिनभित्र अध्यादेश सम्बन्धित मन्त्रीले सदनमा पेस गरिसक्नु पर्ने कानुनी प्रावधान छ । तर, सो अवधिमा सदनमा रेलवे अध्यादेश पेस नभएपछि स्वतः निष्क्रिय भएको थियो ।
२०७७ असोज २ गते भारतीय रेल्वे कम्पनीसँग ८४ करोड ६५ लाख रूपियाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् । दुवै बोगीले करिव १३ सय यात्रु बोक्ने क्षमताका छन् । जनकपुर–कुर्था–जयनगर सामान्य सिटमा प्रतियात्रु ७० रूपियाँ र एसी सिटमा तीनसय रूपियाँ भाडा निर्धारण गरिएको छ ।