पोखरा । कास्की जिल्ला अदालतको इजलास कक्षमा तोडफोडसहित चोरी भएको आशङ्का गरिएको छ ।
अदालतको मुल भवन भन्दा पछाडिएको भवनमा तोडफोड गरेर मिसिलहरु खोतल्ने काम भएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले बताए । मिसिलसहितका कागजपत्रहरू आफ्नो ठाउँमा नरहेकाले चोरी भएको आशङ्का गरिएको छ ।
२ तला माथि रहेको ६ नम्बर इजलासमा फलामको छड प्रयोग गरेर ३ वटा ढोका फोडेको अवस्था छ । दराजबाट मिसिल भएको फाइलहरू छानेको अवस्था छ ।
दुई तला माथि रहेको उक्त इजलासमा राखिने फाइलहरु छरपस्ट देखिएको पनेरुले सुनाए । पनेरुले भने, ‘बिहान मिसिलहरु खोतलिएको भेटिएको छ । मिसाइलदेखि अन्य महत्वपूर्ण समानहरु हराएको हुनसक्छ । के कति फाइल हराए या चोरी भए अहिले नै थाहा पाउन सकिएको छैन ।’
इजलासबाट सामानहरू हराएको हो वा होइन भन्ने विषयमा अहिले छानबिन भइरहेको बताइएको छ । मङ्गलवार राति तोडफोड भए पनि बुधवार बिहान कार्यालय सफा गर्ने क्रममा मात्रै जानकारी भएको अदालतले जनाएको छ ।
ढोका फोड्न प्रयोग भएको छड बरामद भएको छ । तोडफोड भएको ६ नम्बर इजलासमा देवप्रसाद योगीले मुद्दा हेर्दै आएका थिए । चौबिसै घण्टा प्रहरी सुरक्षामा हुने जिल्ला अदालतको ठिक अगाडि वडा प्रहरी कार्यालय छ ।