पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलको चाबी हस्तान्तरण

-


     मर्दी न्युज    
     १२ चैत्र २०७८ मा प्रकाशित


पोखरा । क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थल पोखराको ९७ प्रतिशात निर्माण तथा इन्जिनियरिङ्ग काम सम्पन्न भएकोले चाइनिज ठेकेदार कम्पनीले आज एक कार्यक्रम बिच बिमानस्थलको चाबी हस्तान्तरण गरेको छ।

मित्रराष्ट्र चीनका बिदेशमन्त्रीको नेपाल भ्रमणको अबसर पारेर प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई चाबी हस्तान्तरण गरिएको हो।

निर्माण कम्पनीलाई बिमानस्थल परिसरमा प्रशंसा-पत्र हस्तान्तरण कार्यक्रममा ठेकेदार कम्पनी सिएएमसिइ का प्रेसिडेन्ट लि हाइ सिनले आफ्नो नेपाल बसाई र आयोजना सम्पन्न गर्दाका अनुभव सुनाउदै पोखरेली जनताहरु लाई धन्यवाद ज्ञापन गरेका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारीले पोखरेली जनताको ४६ बर्षदेखिको सपना पुरा भएको र ल्याण्डफिल साइट अन्यत्र सार्ना साथ उडान सुरु गरिने बताए।

प्रमुख अतिथिको मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय प्रेम बहादुर आलेले यो बिमानस्थल पोखरा तथा गण्डकी प्रदेशको मात्रै नभएर नेपालकै गौरव भएको बताए। बाँकी रहेका कामको लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

वि.सं. २०३१ सालमा ३२०६ रोपनी जग्गा अधिग्रहण गरि पछिल्लो समयमा ३९ सय रोपनी पुर्याईएको थियो।

इ. चाँदमाला श्रेष्ठले संचालन गरेको औपचारिक कार्यक्रममा पोखरेली पर्यटन ब्यबसायीहरु तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।