
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा ल्याइने पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताए ।
शनिवार पोखरामा आयोजित विमानस्थल हस्तान्तरण कार्यक्रमका बीच मन्त्री आलेले विमानस्थल निर्माण सम्पन्न गरेकामा चिनियाँ कम्पनी सिएएमसीइका अध्यक्ष लु यानलाई कदरपत्रद्वारा सम्मान गर्दै सरकारले आवश्यक तयारी पूरा गरेर आगामी ६ महिनाभित्रमा सञ्चालनमा ल्याउने जानकारी दिएको हो ।
उनले भने, “आजको कार्यक्रमले पोखराको विमानस्थल सम्पन्न भयो भन्ने सन्देश दिएको छ । अब यहाँका पर्यटन व्यवसायीलाई पर्यटनमा लगानी गर्न यसबाट सन्देश प्रवाह भएको छ ।”
विमानस्थलको काम सम्पन्न भएकाले आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरी प्याराग्लाइडिङ, ¥याफटिङ, गल्फलगायत क्षेत्रमा लगानी र पूर्वाधार निर्माण गर्नुपर्नेमा मन्त्री आलेले जोड दिए । पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि सरकारले कामअघि बढाएको उनले उल्लेख गरे ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदिप अधिकारीले विमानस्थल निर्माणको मुख्य काम सकिए पनि केही समस्या बाँकी रहेको बताए । रिठेपानी डाँडा कटानको काम अघि बढाउन पुरक वातावरणीय प्रतिवेदन स्वीकृतिको चरणमा रहेको उनले जानकारी दिए ।
सिएएमसीइका अध्यक्ष यानले अत्याधुनिक विमानस्थल निर्माण भएको भन्दै यसको शिलान्यास र कार्य सम्पन्न समारोहमा उपस्थित हुन पाउँदा गौरव लागेको बताए । पोखरा र यस क्षेत्रको आर्थिक विकास र समृद्धिमा विमानस्थलले योगदान दिने उनको भनाइ थियो ।