
काठमाडौँ । देशको प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने भएको छ ।
‘प्रि मनसुन’को समय भएकाले पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रि मनसुनका अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ ।
मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ ।
पहाडी भेगमा प्रि मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ ।
विभागका अनुसार राति प्रदेश न १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव तीन डिग्री र अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव सात डिग्री सेल्सियस रहेको छ ।