
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णये निर्णय आज मंगलबार सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका विभिन्न निर्णय आज सार्वजनिक गरेका हुन् ।
चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।
यस्तै सरकारले यही मार्च २६ देखि २७ सम्म कतारको राजधानी दोहामा आयोजित दोहा फोरमको २० औँ संस्करणमा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।
सरकारले राजश्व परामर्श समितिको सदस्यमा लेखनाथ शर्मा पङ्गेनी र जीवन अंगाईलाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सर्लाहीको बलरा नगरपालिका ३ का झालाई दुग्ध विकास संस्थानको महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
यस्तै सरकारले राष्ट्रिय भूमि आयोगको सदस्यमा भैरवराज रेग्मी र नापी विभागको उप महानिर्देशकमा करुणा केसीलाई तोक्ने निर्णय भएको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने पनि निर्णय गरेको छ ।