ठेक्कापट्टामा संलग्न व्यक्ति स्थानीय तहको उमेदवार हुन नपाउने, यस्ता छन स्वघोषणा गर्नुपर्ने व्यवस्था

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०७८ मा प्रकाशित


काठमाडौं । स्थानीय तहको निर्वाचनमा उमेदवार हुन चाहने व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने व्यवस्था गरेको हो ।

“नेपालको संविधान तथा निर्वाचन सम्बन्धी प्रचलित कानुनी व्यवस्था समेतको आधारमा स्थानीय तह निर्वाचनमा उमेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्दा स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उमेदवार स्वयं जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,” आयोगद्वारा विज्ञप्तिमा भनिएको छ ।

आयोगले स्थानीय तहको निर्वाचनको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने १९ बुँदा तय गरेको छ । जसमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको स्वघोषणा गर्नुपर्ने उल्लेख छ ।

यी हुन् उमेदवारले मनोनयन गर्दा पेश गर्ने स्वघोषणपत्रमा उल्लेख गर्नुपर्ने कुराहरू :

१. नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको ।

२. २१ वर्ष उमेर पुरा भएको नेपाली नागरिक भएको

३. गाउँपालिका वा नगरपालिकाको सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको ।

४. स्थानीय तह निर्वाचनसम्बन्धी कुनै कानुनले अयोग्य नभएको ।

५. नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक वा सुविधा पाउने गरी बहाल नरहेको ।

६. सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको ।

७. स्थानीय तह निर्वाचन येन २०७३ को दफा १३ को खण्ड (ङ), च), )छ), (ज), (झ), (ञ) र (ट) बमोजिमको अयोग्यता नभएको ।

८. स्थानीय तह निर्वाचन ऐन, २०७३, स्थानीय तह निर्वाचन नियमावली, २०७४ तथा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ बमोजिम मनोनयन पत्र साथ उम्मेदवारले पेस गर्नुपर्ने सबै कागजात पेस गरेको ।

९. प्रतिनिधि सभा सदस्य वा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्द सूचीमा नाम कायम नरहेको ।

१०. मनोनयन पत्र साथ पेस गरेको सम्पत्ति विवरण ठिक साँचो रहेको ।

११. स्थानीय तहलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको ।

१२. कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको ।

१३. सरकारी पेस्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको ।

१४. संविधानको धारा २९१ बमोजिम विदेशको स्थायी आवासीय अनुमति पत्र (डिभी÷ पिआर) नलिएको ।

१५. न्यायिक वा अर्घ न्यायिक निकायबाट लागेको कँद सजाय, जरिबाना तिर्न बुझाउन बाँकी नरहेको ।

१६. निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने प्रतिबद्ध रहेको ।

१७. निर्वाचन आयोगले तोकिदिएको निर्वाचन खर्चको सीमाभित्र रही खर्च गर्न र खर्च सम्बन्धी आचरण पालना गर्न प्रतिबद्ध रहेको ।

१८. २१ वर्ष उमेर पूरा भएकोले स्थानीय निर्वाचनमा उम्मेदवार हुन योग्य नेपाली नागरिक भएको ।

१९. नेपालको संविधान, कानुन र निर्वाचन ऐन नियम भित्र रही निर्वाचनमा भाग लिन प्रतिबद्ध रहेको ।

यस्तो स्वघोषणापत्रमा उम्मेदवारले सम्पूर्ण विवरण ठिक साँचो रहेको र झुठा ठहरे कानुन बमोजिम सहँन बुझाउन प्रतिबद्ध रहेको घोषणा गर्नुपर्ने आयोगले जनाएको छ ।