ग्याँस उद्योगहरूले रोके ग्याँस बिक्री

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०७८ मा प्रकाशित


काठमाडौँ। नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरूले आज बिहीबारबाट बिक्रेताहरूलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।

कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल एलपी ग्याँस उद्योग सङ्घले संयुक्त रूपमा आन्दोलन गर्दै आएका व्यवसायीहरूले आपूर्ति बन्द गरेको हो ।

राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिको आह्वानमा पूर्वघोषित आन्दोलनका कार्यक्रम अनुसार आजबाट एलपी ग्याँस उद्योगीहरूले बिक्रेतालाई बिक्री वितरण बन्द गरेका हुन् ।

कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी उनीहरूले दिएका छन् ।

निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । उक्त कमिसन पाउनुपर्ने र २०७७ मङ्सिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरूले चैत ५ गतेदेखि आन्दोलन जारी राखेका हुन् ।