निसीखोला अर्नाकोट देउरालीमा निःशुल्क स्वास्थ्य शिविरः ४३२ जनाले लिए सेवा

-


     मर्दी न्युज    
     १७ चैत्र २०७८ मा प्रकाशित


बाग्लुङ । कर्मफ्लाईट्स फाउन्डेशन नेपाल पोखराको आयोजना तथा निसीखोला गाउँपालिकाको समन्वयमा निसीखोला गाउँपालिका वडा नं २ अर्नाकोट देउरालीमा एक दिने बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा सामान्य चिकित्सा तथा पेट सम्बन्धी विशेषज्ञ उपचार सेवा, भिडियो एक्सरे, डेन्टल स्क्रिनिङ र उपचार परामर्श, निःशुल्क चेक जाँच, सामान्य घाउचोटको उपचार तथा निशुल्क औषधी प्रदान गरिएको थियो ।

स्वास्थ्य शिविरमा निसीखोला गाउँपालिका वडा नं २ सहित ढोरपाटन नगरपालिका वडा नं २, ५ र ७ का ४३२ जना नागरिकले सेवा लिएको संस्थाका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले जानकारी दिए ।

शिविरमा महिला तथा प्रसुति रोगको चेक जाँच तथा भिडियो एक्सरे, रगत तथा सुगर परिक्षण गरिएको थियो जसमा १४० पुरुष र २९२ महिलाले सेवा लिएका थिए ।

शिविरमा ७० जनाको दाँत परिक्षण गर्दा बढी मात्रामा किरा लागेर समस्यामा परेका बिरामी आएको र २३ जनाको दाँत निकालिएको महिलामा बढि मात्रामा पाठेघरको समस्या देखिएको ११० जनाको भिडियो एक्सरे गरिएकोमा ४ जनाको गर्भ जाँच, २० जनामा कलेजोमा बोसो जमेको, २० जनामा स्टोन देखिएको मेडिकल टोली डा. आकाश श्रेष्ठले बताए ।

अर्नाकोट सामुदायिक स्वास्थ्य ईकाई तथा वर्थिङ सेन्टर र अर्नाकोट मा.वि. देउरालीको प्राङ्गणमा सम्पन्न भएको उक्त स्वास्थ्य शिविरमा निसीखोला गाउँपालिका का अध्यक्ष तारानाथ पौडेल, वडा नं २ का अध्यक्ष कुविर विश्वकर्मा लगायत गाउँपालिकाको टोली ले स्वास्थ्य शिविर अवधिभरि पूर्ण रुपमा उपस्थित भई शिविर अवलोकन गरेका थिए ।

समापन समारोहमा उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा विदेशी स्यंमसेवकहरु लाई प्रोत्साहन स्वरुप सम्मान पत्र प्रदान गर्दै आफूहरु स्थानिय सरकारमा निर्वाचित भईसकेपछि निसीखोला गाउँपालिका को दुर्गम वस्ती अर्नाकोटमा स्वास्थ्य र शिक्षाका क्षेत्रमा ठूलो सहयोग गरी गाउँपालिका को विकासको मूल प्रवाहमा समेट्न आफूले महत्वपूर्ण भूमिका खेलेको पालिकाका जनप्रतिनिधिले बताए ।

साथै भोलिका दिनमा पनि अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईमा कर्मफ्लाईटस्को सहकार्यमा वर्थिङ सेन्टर भवन निर्माण अनुदान हातेमालो गर्न आफ्नो भूमिका रहने जनप्रतिनिधिले बताए ।

कार्यक्रमको अध्यक्षता गरेका स्वास्थ्य इकाईका अध्यक्ष एंव निसीखोला गाउँपालिका वडा नं २ का वडाध्यक्ष कुविर विश्वकर्मा ले स्वास्थ्य शिविर सम्पन्न गर्न सहयोग गर्ने स्वास्थ्यकर्मी, शिक्षक, स्वयंम सेवक कर्मचारी तथा संस्थाका प्रतिनिधीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक वेग बहादुर कुँवर, स्वास्थ्य संयोजक कृष्ण प्रसाद पाण्डे, कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवर, डा.वेक्की हिक्बी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष मिलन थापाले सञ्चालन गरेका थिए ।


फोटाहरुः प्रेम ब. कुँवर​