प्रधानमन्त्री देउवा भारत प्रस्थान

-


     मर्दी न्युज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा तथा कृषिमन्त्री महेन्द्र राय यादव सहभागी छन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीगरी करिब ५० जना सहभागी छन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले बिदाइ गरेको थियो ।

उनलाई बिदाइ गर्न सभामुख अग्नि सापकोटा, गृहमन्त्री बालकृष्ण खाँण लगायत पनि विमानस्थल पुगेका थिए ।

उनी भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्नेछन् ।

प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्ने छन् । त्यसपछि उनी नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।