प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

-


     मर्दी न्युज    
     चैत्र १८ गते २०७८ मा प्रकाशित


नयाँ दिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा देउवालाई जयशंकरले भेटेका हुन् ।

तीन दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्ली पुगे लगत्तै देउवाको यो पहिलो भेटवार्ता हो ।

प्रधानमन्त्री देउवा आजै सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम छ ।

भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछ भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछ ।

वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।