पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न गृहमन्त्रीको निर्देशन

-


     मर्दी न्युज    
     चैत्र १९ गते २०७८ मा प्रकाशित


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्यवाहक महानिर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिव विश्व अर्याललाई शनिवार टेलिफोन गरेर तत्काल समस्या समाधान गर्न निर्देशन दिएका उनको सचिवालयले जनाएको छ ।

उनले अत्यावश्यक वस्तुमा समस्या देखिए सरकार नचाहँदानचाहँदै कठोर हुनुपर्ने अवस्था आउन सक्नेतर्फसमेत सचेत गराएको छ । व्यवसायीहरूले पेट्रोलियम पदार्थ बेचे–नबेचेको अनुगमन गर्न कार्यवाहक प्रधानमन्त्रीले आफूहरूलाई निर्देशन दिएको र आफूहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौँको सहयोगमा अनुगमन गरेको निगमका कार्यवाहक महानिर्देशक गोइतले जानकारी दिए ।

उनका अनुसार कावा प्रधानमन्त्री खाँणको निर्देशनअनुरूप उपत्यकाका २० बढी पम्पहरूमा अनुगमन गरिएको र केहीले बेचेको तथा केहीले नबेचेको फेला परेको पनि उनले जानकारी दिए । आइतबार थानकोटको डिपो खुला हुने भएकाले तेल ल्याएर बिक्री गर्ने कागज बनाएर छाडेको पनि उनले जानकारी गराए । आज साँझ ५ बजे आन्दोलनरत पक्षसँग वार्ता गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिए ।

डिलर्स एशोसिएशनका महासचिव अर्यालले पेट्रोलियम पदार्थमा देखिएको समस्या निगमसँग वार्ता गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । व्यवसायी र डिजेल ढुवानीकर्ताहरूले डिजेलको भाउ बढेपछि डिजेल पेट्रोल बोक्ने ट्याङ्करको भाडा बढाइनुपर्नेलगायत माग राखेर पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्ने चेतावनी दिँदै आएका छन् ।