पन्ध्र वर्ष पछी नेपालमा चीर समीट

-


     कृष्ण प्रसाद भुषाल     
     चैत्र २० गते २०७८ मा प्रकाशित


काठमाण्डौं । विश्वमै दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित चरा चीर कालिजको दिगो अध्ययन र संरक्षणका लागि १५ वर्ष पछी काठमाडौंमा दोस्रो चीर कालिज समीट सम्पन्न भएको छ ।

सन् २००७ मा नेपालमा पहिलो चीर संरक्षण समीट भएको थियो । टोलेडो जुको सहयोग, हिमाली प्रकृतिको स्थानीय व्यवस्थापन र नेपाल पन्छीविद संघको आयोजनामा चरा विज्ञ, अनुसन्धानकर्ता र बिद्यार्थीहरुको सहभागितामा सम्पन्न उक्त समीटले नेपालमा चीरको बर्तमान अवस्था र चुनौतीको समिक्षा गर्दै आगामी रणनीतिहरु पनि तय गरेको छ ।

नेपाल पन्छीविद संघका अध्यक्ष डा. भगवानराज दाहालको अध्यक्षतामा सचिव डा. तुल्सी सुवेदीको स्वागत तथा कार्यक्रमको विषयवस्तु माथीको प्रष्टिकरण सँगै अघि बढेको कार्यक्रममा नेपालमा चीर तथा अन्य कालिज प्रजातीको चराको अवस्था र चुनौती सम्बन्धमा करीव दुई दशक देखी नेपालमा चीर कालीजको अध्यन अनुसन्धान गरीरहनुभएको हाल शिवपुरी–नार्गाजुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण प्रसाद पौडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सुन्दर पन्छी चीर नेपालमा कालीगण्डकी नदी पश्चिमको मध्य पहाडमा १५ सय देखी ३ हजार ५० मिटर सम्मको उचाईमा अभिलेख गरीएको छ । यो चरा नेपालका अलावा भारत र पाकिस्तानमा मात्र पाइन्छ ।

मध्यपहाडका भीराला घाँसे तथा छरीएका रुख भएका चट्टानी पहराहरुमा बस्ने चीर मुख्यतया चोरीशिकार र बासस्थान विनाशले लोप हुने अवस्थामा छ । मासुकोलागि यसको अवैध शिकार हुने गरेको छ ।

नेपालमा पाईने आठ प्रजातीका कालिजको संरक्षण गर्न नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले लागु गरेको पञ्चवर्षिय कालिज संरक्षण योजना २०१९–२०२३ ले मार्गनिर्देशन गरेका कार्यहरुको कार्यावन्यन सन्दर्भमा यस समिटले महत्वपुर्ण योगदान दिने अपेक्षा गरीएको नेपाल पन्छी विद संघका अध्यक्ष डा. भगवानराज दाहालले बताउनु भयो ।

नेपालमा सबैभन्दा पहिला सन् १९८१ मा ढोरपाटन शिकार आरक्षबाट लेलिवोतले सुरुवात गर्नुभएको थियो भने त्यस क्षेत्रमा सन् २००३ मा पुर्णेस्वर सुवेदीको टिमले चीरको अध्यन गरेको थियो । स्मरणीय छ सुबेदी चीरको अध्ययन गर्ने पहिलो नेपाली हुन् ।

पछि गएर सन् २०१४ मा हरी बस्नेतको टिमले अध्यन गरेको थियो । सन् २००३ देखि २०१३ सम्मको अध्ययनले त्यस क्षेत्रमा चीरको संख्या ३६ प्रतिशतले घटेको देखाएको छ । त्यस क्षेत्रमा चीरको वर्तमान अवस्था कस्तो छ भनेर यस वर्ष पनि अध्ययन गर्ने योजना बनाएको नेपाल पन्छी विद संघका सचिव डा. तुल्सी सुवेदीले बताउनु भयो ।

गोष्ठीमा वन विज्ञान, जीव विज्ञान, वातावरण विज्ञान आदी विषयमा अध्ययनरत विद्यार्थी, काठमान्डू, पोखरा, कोशी, चितवन, नवलपुर लगायत विभिन्न स्थानबाट आउनु भएका चराविज्ञहरु लगायत ३० जनाको सहभागिता रहेको थियो ।

समीटले चीर अध्यनको विधी तथा अनुसन्धानमा ख्याल गर्नुपर्ने बहुआयामिक पक्षको समिक्षा गर्दै महत्वपुर्ण सुझाव पनि दिएको छ ।

नेपालमा चराहरुको प्रजातिगत विविधता उच्च भएपनि चोरीशिकार र बासस्थान बिनाश चुनौती विद्यमान छन । चोरीशिकार नियन्त्रणको लागि समुदाय मा सचेतना र अपराधीलाई कानुनी दायारामा ल्याउनु प्राथमिक आवस्यकता छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित पन्छीलाई मार्ने, अण्डा नष्ट गर्ने अथवा व्यापार गर्नेलाई ५ सय देखी १ लाख सम्म जरीवाना अथवा ३ महिना देखी २ वर्षसम्म कैद अथवा दुवै सजाय हुने कानुनी प्रावधान छ ।

अर्घाखाँचीमा देखिएको चीर, फोटोः मित्र पाण्डे