पोखरेली पर्यटनकर्मीहरु नयाँ गन्तव्यको खोजीमा आज दाङ्गसिङ मोहरिया आइपुगे

-


     मर्दी न्युज    
     चैत्र २५ गते २०७८ मा प्रकाशित


पोखरा । नेपाल पर्यटन बोर्डको प्रबर्द्धन, राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण आयोजना(एक्याप) साथै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आर्थिक सहकार्यमा अखिल नेपाल पर्यटन मजदुर संघ,गण्डकी प्रदेशले आयोजना गरेको बिरेठाँटी – दाङ्गसिङ मोहरिया- थमडाँडा-घान्द्रुक पदमार्गको प्रबर्द्धन गर्ने उदेश्य साथ आज चैत २५ गते बिहान पोखराबाट प्रस्थान गरेको टिम बेलुका मोहरिया आइपुगेको छ।

पोखराका विभिन्न ट्रेकिङ कम्पनीमा रहेर कामगर्ने गाइडहरु, पर्यटन ब्यबसायिहरु, संचारकर्मिहरु सम्मीलित टिमलाई मोहरियाको आमा टोलिले भब्य स्वागत गरेको थियो।

प्रबर्द्धनात्मक कार्यक्रम अन्तर्गत नयाँ गाइड तथा सहयोगीहरुलाई पदमार्ग र यस्को महत्त्व तथा इतिहास बुझाउने, बाटो झुक्किने ठाउँमा इनामेल बाट संकेत चिन्हहरु लगाउने, बाटोमा यत्रतत्र फालिएको प्लास्टिकजन्य फ़ोहोरहरु टिप्ने र उचित ब्यबस्थापन गर्ने, स्थानीय सरोकारवालाहरु, महिला पर्यटन ब्यबसायीहरु, होटल संचालकहरु तथा जनप्रतिनिधिहरु संग अन्तर्कृया गर्ने लगायतका कार्यहरू पर्ने संयोजक तथा अखिल नेपाल पर्यटन मजदुर संघ, पोखरा महानगर कमिटी अध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताउनुभयो।

क्षमता अभिबृद्दीका लागि श्रोत ब्यक्तिको रूपमा लामो समय पर्यटन ब्यबसायमा लागेका नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्मा, ट्रेड युनियन तथा श्रम ऎन बिज्ञ अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य/ गण्डकी प्रदेश कोषाध्यक्ष टंकराज पौडेल, अखिल नेपाल पर्यटन मजदुर संघका केन्द्रिय उपाध्यक्ष प्रकाश ढुंगानाले आबस्यक सहजीकरण गर्नुभएको थियो।

अन्नपूर्ण गाउँपालिका वडा नँ :८ मोहरियामा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै समाजका अगुवा तथा पर्यटन ब्यबसायी सन्तमान गुरुङले मौलिकता, र संस्कृति जोगाउन सकेमात्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने सकिनेकुरा उहाँले जोडदिनुभयो।

गन्तव्य प्रबर्द्धनका साथै सरोकारवालाहरुको क्षमता अभिबृद्दी गर्ने उक्त प्रबर्द्धनात्मक टोलिमा पोखराबाट २० जना सहभागी भएको अखिल नेपाल पर्यटन मजदुर संघ, गण्डकी प्रदेश अध्यक्ष बिष्णु देबकोटाले बताउनुभयो।