जापानद्वारा कूटनीतिज्ञ सहित आठ रसियनलाई देश निकाला

-


     सन थापा    
     चैत्र २५ गते २०७८ मा प्रकाशित


जापान, २५ चैत । जापानले रूसी दूतावासका कूटनीतिज्ञसहित व्यापार प्रतिनिधि कार्यालयका आठ अधिकारीलाई देश निकाला गर्ने घोषणा गरेको छ ।

जापानको बिदेश मन्त्रालयका प्रेस सेक्रेटरी ओनो हिकारिनोले शुक्रवार उक्त घोषणाको जानकारी गराएकी हुन् । ओनोले भनिन्, उपमन्त्री मोरी ताकेओले रसियन राजदूत मिखायल गालुजिनलाई बोलाएर देश निकालाको बारेमा जानकारी गराईएको छ, त्यस क्रममा मोरीले राजदूतलाई यूक्रेनमा धेरै निर्दोष नागरिकहरूको हत्या गरी अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन गरेको भन्दै अक्षम्य युद्ध अपराध गरेको बताईएको छ ।

रूसको कार्यको निन्दा गर्दै यूक्रेनबाट तत्काल सबै सेना फिर्ता हुनु पर्ने माग गरेको मोरीलाई उद्दृत गर्दै ओनोले बताईन् ।

प्रेस सेक्रेटरी ओनोले रूसी पक्षलाई देश छोड्ने समयसीमा बारे सूचित गरिएको बताए पनि विस्तृत विवरण खुलाउन मानेनन् । रसियामा रहेका जापानी नागरिकको लागि निस्कासनले कस्तो असर पार्न सक्छ भन्ने प्रश्नमा उनले काल्पनिक प्रश्नको जवाफ नदिने भन्दै रूसमा जापानी नागरिक र जापानी व्यवसायिक गतिविधिलाई जोगाउन परराष्ट्र मन्त्रालयले सक्दो प्रयास गरिरहने बताईन् । रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले सरकारी समाचार एजेन्सीलाई बताईन् कि जापानको निर्णयको मस्कोले टोकियोलाई उचित जवाफ दिनेछ, सञ्चार संस्था एनएचकेको समाचारमा उल्लेख छ ।